इटहरी। मोरङ प्रहरीले छुट्टाछुट्टै कारबाहीमा विराटनगर विमानस्थलबाट ब्राउन सुगरसहित एक जना र सुन्दरहरैँचाबाट भरुवा बन्दुक तथा गाँजासहित अर्का एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौँ पठाउन लागिएको खेलकुद जुत्ताको कार्गो सामानमा लागुऔषध फेला परेको हो। विराटनगर विमानस्थलको प्रस्थान कक्षमा एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उक्त सामान कुरियर गर्न आएका विराटनगर महानगरपालिका–५ का २४ वर्षीय सुशान्त खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो।
यसैगरी, सोही राति सुन्दरहरैँचा नगरपालिका–१० मुनाल झोडास्थित एक घरमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा ५६ वर्षीय बलबहादुर राईको घरको भान्सा कोठामा लुकाएर राखिएको एक थान भरुवा बन्दुक र नजिकैको गोठमा लुकाइएको एक किलो पाँच सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बलबहादुर राईलाई नियन्त्रणमा लिई हतियार तथा लागुऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।


