इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा चार दिनअघि भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका सरोकारवाला निकायले शान्ति, सुरक्षा, सद्भाव तथा अमनचयन कायम गर्न संयुक्त ऐक्यबद्धता जनाएका छन्।

बुधबार राति सम्पन्न सर्वपक्षीय बैठकले जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न, सामाजिक सद्भाव सुदृढ बनाउन तथा कानुनी प्रक्रियामार्फत घटनाको समाधान खोज्न पाँचबुँदे प्रतिबद्धता जनाएको हो। जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताका अनुसार बैठकमा पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने, मृतकलाई सहिद घोषणा गर्ने तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयसमक्ष आग्रह गर्ने विषयमा समेत छलफल भएको छ। बैठकले कप्तानगञ्ज घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार घटनापछि जिल्लाका विभिन्न स्थानमा देखिएको साम्प्रदायिक तनाव तथा हुलदङ्गाप्रति बैठकले गम्भीर दुःख व्यक्त गर्दै यस्ता अराजक तथा अवाञ्छित गतिविधि रोक्न सबै पक्षले आ–आफ्नो स्थानबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ। बैठकले आक्रोश, प्रतिशोध र हिंसाभन्दा संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आम नागरिकलाई पनि संयमित रहन आग्रह गरेको छ। त्यसैगरी सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा अराजक सामग्री प्रकाशन वा साझेदारी नगर्न तथा आधिकारिक सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। भिडभाड र हुलदङ्गामा युवाको संलग्नता देखिएकाले अभिभावकलाई आफ्ना बालबालिका तथा युवालाई यस्ता गतिविधिबाट टाढा राख्न विशेष आग्रह गरिएको छ।

सर्वपक्षीय बैठकमा प्रतिनिधिसभा सदस्य लालविक्रम थापा र दीपककुमार साह, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन मेहता, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँ, कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीलगायतको उपस्थिति थियो।

यसैगरी, बैठकमा इनरुवा नगरपालिकाकी उपप्रमुख विनिता कुमारी मेहता, गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्की, स्वकीय सचिव पारस क्षेत्री, भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी यादव, देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष विभा यादव, सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीहरू, साथै सरकारी, गैरसरकारी र धार्मिक संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।