इटहरी । हरेक बिहान दुध दुहेर डेरीमा बुझाउने किसानको विश्वास हुन्छ, आफ्नो पसिनाको मूल्य समयमै हात पर्छ । त्यही आम्दानीबाट पशुका लागि दाना किनिन्छ, घरखर्च चलाइन्छ, ऋणको किस्ता तिरिन्छ र छोराछोरीको पढाइ खर्च जुटाइन्छ । झापाको दमक–३ का करिब दुई सय दुग्ध किसानका लागि यो विश्वास अहिले ठुलो चिन्तामा बदलिएको छ ।

दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दुध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी गर्न नसकेपछि किसान आर्थिक सङ्कटमा परेका छन् । प्रारम्भिक रूपमा ६० जना किसानको २२ लाख ६५ हजार दुई सय रुपियाँ बक्यौता प्रमाणित भइसकेको छ । पीडितका अनुसार रकम पाउन बाँकी किसानको सङ्ख्या अझै धेरै छ । सहकारीका लागि दुग्ध व्यवसाय विश्वासमा टिकेको व्यवसाय बनेको थियो । किसानले दैनिक दुध बुझाउँछन् र सामान्यतः अर्को महिनाको १० गतेभित्र भुक्तानी हुने चलन रहेको थियो । हंसे दुम्से डेरीमा पनि सुरुवाती वर्षमा यही प्रणाली नियमित थियो । समयमै भुक्तानी भएपछि किसानले गाईभैँसी थपे, ऋण लिएर गोठ विस्तार गरे र उत्पादन बढाएका थिए ।

केही वर्षयता भुक्तानी अनियमित हुन थाल्यो विभिन्न बहानाबाजी गरेर सञ्चालकले किसानसँग केही समय माग गरिरहेछ । गाउँकै सहकारी भएकाले किसानले पनि विश्वास गरे । सबै आफन्त सञ्चालक भएकाले धेरै विरोध पनि गरिएन तर पछि आफैँ दुःख पाइयो, एक किसानले भन्नुभयो । केही समययता दुग्ध सङ्कलन तथा यसको कार्यालय बन्द भएको छ । पीडित किसानका अनुसार लामो समयदेखि दुधको भुक्तानी नहुँदा उनीहरू गम्भीर आर्थिक समस्यामा पर्नु परेको छ । पशुका लागि दाना खरिद गर्न, घरखर्च चलाउन, छोराछोरीको शिक्षाको खर्च जुटाउन र बैङ्क तथा सहकारीको ऋण तिर्न कठिन भएको उनीहरूको गुनासो छ ।

पीडित किसानले संस्थामा आर्थिक अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी दर्ता गरेका छन् । उजुरीमा वर्तमान अध्यक्ष हिमालयप्रसाद दाहाल, पूर्वअध्यक्ष गेहनाथ पोखरेल, पुष्प ढकाल तथा शान्तिराम भट्टराईलगायत जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ । सहकारी संस्थाका अध्यक्ष हिमालयप्रसाद दाहालले आफूहरू फरार नभएको स्पष्ट पार्नुभएको छ । किसानको दुध बिक्रीबापतको रकम तिर्न बाँकी रहेको स्वीकार गर्दै उनले संस्थाको आर्थिक अवस्था अघिल्लो व्यवस्थापनदेखि नै कमजोर बन्दै गएकाले समस्या रहेको स्वीकार गर्नुभयो । 

सहकारीले किसानले बिक्री गरेको दुधबाट प्राप्त नाफाकै आधारमा जग्गाजमिन तथा अन्य भौतिक सम्पत्ति जोडेकोे जनाउँदै त्यही बिक्री गरेर भए पनि किसानलाई रकम तिर्ने उहाँको प्रतिबद्धता रहेको छ ।दमक नगरपालिकाका अनुसार उक्त सहकारीले पछिल्ला दुई वर्षदेखि संस्था नवीकरण गरेको छैन । साधारण सभा तथा संस्थाको वित्तीय अवस्थाबारे पनि नगरपालिकालाई नियमित जानकारी छैन । नगरपालिकाले संस्थाको अवस्थाबारे अध्ययन गरिरहेको दमक नगरपालिकाको सहकारी शाखाका प्रमुख इच्छाराम चम्लागाईंले बताउनुभयो ।

दैनिक दुध उत्पादन गर्ने किसानका लागि बक्यौता रकम केवल आर्थिक हिसाब नभएर परिवारको जीवनसँग जोडिएको विषय भएकाले चाँडो समस्याको निकास दिन माग बढेको छ ।