इटहरी । इलामको सूर्योदय नगरपालिकामा १२० मिटर लामो अत्याधुनिक सिसाको ९ग्लास० पुल निर्माण भएको छ । सूर्योदय नगरपालिका–८, मानेडाँडामा सङ्घीय सरकार र सूर्योदय नगरपालिकाको संयुक्त लगानीमा १२० मिटर लम्बाइ र डेढ फिट चौडाइ भएको यो पुल निर्माण गरिएको हो ।
२०७९ सालमा बिएटी निर्माण कम्पनीले सात करोड ६१ लाख ७८ हजार ३७१ रुपियाँमा ठेक्का लिएको सो पुलको हाल करिब ९५ प्रतिशत काम सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिनुभयो । पुलमा सिसा राख्ने कामसमेत सकिइसकेको र यसको उचाइ ६० मिटर रहेको छ । रमणीय पर्यटकीय स्थलमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्मित यस सिसाको पुल आगामी असोज महिनामा पर्ने विश्व पर्यटन दिवसलाई लक्षित गरी उद्घाटन गर्ने नगरपालिकाको तयारी छ ।
उक्त स्थानमा अब बाहिरी सौन्दर्यकरणको काम मात्र बाँकी रहेको छ । सौन्दर्यकरण, विद्युत् जडान, टायल बिछ्याउने र भ्यु–पोइन्ट निर्माण जस्ता कार्य सम्पन्न भएपछि पुलको औपचारिक उद्घाटन गरिने छ । सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालका अनुसार निर्माण कम्पनीले पूरै काम सकेर हस्तान्तरण गरेपछि पुल सञ्चालनमा ल्याइने छ । पुलमा यात्रा गर्दा पर्यटकको अनुभवलाई रोमाञ्चक बनाउन अधिकांश ठाउँमा सिसा चर्केको जस्तो देखिने प्रविधि जडान गरिएको छ । यसले हिँड्ने पर्यटकलाई कुनै असर नगर्ने र यो पूर्ण रूपमा सुरक्षित रहेको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा धेरै जसो समय कुहिरो लागिरहने भएकाले वर्षैभरि भने पुल खुला गर्न नसकिने नगरपालिकाले जनाएको छ । पुलबाट झापालगायत तराईका फाँटहरू, भारतका दार्जीलिङ, मिरिक र सिलिगुडीका साथै विभिन्न हिमशृङ्खलाहरू प्रत्यक्ष देख्न सकिन्छ ।
दैनिक सयौँ पर्यटक आउने अपेक्षा गरिएको यो पुल नगरपालिका स्वयंले सञ्चालन गर्ने छ । सिसाको पुल चढ्नका लागि नगरपालिकाले स्वदेशी र विदेशी पर्यटकका लागि फरक फरक शुल्क दररेट निर्धारण गरेको छ । कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकामा बाह्रै महिना स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गर्छ ।


