इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सिसा र प्लास्टिकमुक्त नगर बनाउने अभियान सञ्चालन गर्ने भएको छ । वातावरणीय प्रदूषण रोक्न नगरपालिका भित्र सिसा र प्लास्टिक प्रयोगलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
साउन १३ गते बसेको नगरकार्यापालिकाको बैठकलले नगरपालिका भित्र सिसाको बोतलमा पाइने बियर बिक्री वितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ । नगरपालिका भित्र आयात भएका सिसाका बोतलका बियर तीन महिनाभित्र बिक्री वितरण गरिसक्नु पर्ने छ । कात्तिकबाट नगरपालिका भित्र होटल, पसल, रेष्टुरेन्ट लगायत कुनै पनि ठाउँमा सिसाको बोतलमा भएको बियर पूर्णरुपमा प्रतिबन्ध हुने नगर प्रमुख भट्टराईले बताउनुभयो । क्यान बियर बिक्री वितरणमा भने रोग लगाइने छैन ।
प्लास्टिक र सिसाजन्य प्रदूषणले गम्भिर सङ्कट उत्पनन भइरेको कारण वातावरण संरक्षणको लागि नगरपालिकाले प्लास्टिक र सिसाजन्य बस्तु प्रयोगमा न्युनिकरण गर्ने उद्धेश्य अघि बढाएको जनाएको छ । जसकारण सिसाको बोतलमा पाइने बियरमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख भट्टराईको भनाइ छ । सिसाको बोतलको रोकेर क्यान बियर मात्र नगरपालिका क्षेत्रमा पठाउनलाई बियर उत्पादक कम्पनिहरुसँग पनि छलफल भइरहेको छ । गोर्खा ब्रुअरी प्रा।लि यस विषयमा प्रतिबद्ध रहेको प्रमुख भट्टराईको भनाइ छ ।
नगरपालिकाभित्र अहिले भएका सिसाका बोतलहरु उक्त कम्पनिले लाने गरी सहमतीसमेत भएको उहाँको भनाइ छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले साउन १८ गतेदेखि ‘प्लास्टिक तथा सिसाजन्य फोहोरमुक्त सार्वजनिक स्थल, जलवायुमैत्री र सभ्य नगर निर्माण अभियान’ औपचारिक रूपमा शुभारम्भ गर्ने जनाएको छ । साउन १८ गते बिहान १० बजेर १३ मिनेटमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जुममार्फत कार्यक्रमको सुभारम्भ गर्ने गरी तयारी भएको नगरपालिकाले जनाएको छ ।
साउन १९ गतेदेखि १५ दिनसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नगरपालिकाका १५ वटै वडाका विद्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, धार्मिक तथा पर्यटकीय स्थल, बजार, चौतारा लगायतका सार्वजनिक स्थलमा सरसफाइ, प्लास्टिक तथा शिशाजन्य फोहोर संकलन तथा व्यवस्थापनसँगै व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख भट्टराईले बताउनुभयो ।


