इटहरी । सुनसरीको इटहरी–१, आँपगाछीमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । शिक्षालाई सिप, प्रविधि र रोजगारसँग जोड्न थालेपछि विद्यार्थी र अभिभावक दुवैको रोजाइमा सामुदायिक विद्यालय पर्न थालेको हो । 

विसं २०१३ मा स्थापना भएको विद्यालय प्राविधिक तथा व्यावसायिक शिक्षाको केन्द्रका रूपमा विकसित हुँदै गएको विद्यालयका प्रधानाध्यापक शरणकुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार वार्षिक ४५ हजार रुपियाँ शुल्कमा होटेल म्यानेजमेन्ट पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । अन्य विद्यालय तथा कलेजले यही विषय पढाएबापत डेढदेखि दुई लाख रुपियाँसम्म शुल्क लिने गर्थे । सामुदायिक विद्यालयले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा दिन थालेपछि पूर्वी पहाडी जिल्लासहित विभिन्न स्थानबाट पनि कक्षा ११ र १२ मा अध्ययनका लागि विद्यार्थी आउने गरेको प्रधानाध्यापक बस्नेतले भन्नुभयो ।

विद्यालयले कक्षा ११ मा होटेल म्यानेजमेन्ट तथा ब्युटिसियन तथा हेयर ड्रेसिङ विषय सञ्चालनमा ल्याएको छ । यसअघि सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, शिक्षा र कम्प्युटर विज्ञानका कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयले विद्यार्थीको रुचि र श्रमबजारको आवश्यकतालाई ध्यानमा राखी नयाँ विषय थपेको विद्यालयले जनाएको छ । 

विद्यालयका निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष कोविदजङ्ग कार्कीका अनुसार शिक्षालाई सिपसँग जोड्न थालेपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । २०६८ सालदेखि सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयबाट अध्ययन गरेका धेरै विद्यार्थी स्थानीय तह, सरकारी कार्यालय, वित्तीय संस्था तथा निजी क्षेत्रमा कार्यरत रहेको प्रधानाध्यापक बस्नेतले बताउनुभयो । बालविकासदेखि कक्षा १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन हुँदै आएको विद्यालयमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।