इटहरी। पाँचथरको फिदिम नगरपालिका –४ जोरसालमा सञ्चालित लक्ष्मी ट्रेड्स एण्ड सप्लायर्स (पेट्रोल पम्प) पहिरोले पुरिएको छ । शुक्रबार साँझ करिब ९ बजेतिर माथिबाट झरेको पहिरोले पेट्रोल पम्पको कार्यालय र पेट्रोल तान्ने मेसिन लगायतका संरचनामा क्षति पुगेको छ । पहिरोका कारण पेट्रोल विक्री वितरण ठप्प भएको सञ्चालक गौरी भण्डारीले बताउनुभयो । पम्पको भण्डारमा कम्तिमा तीन ट्याङ्कर बढी डिजेल र एक ट्याङ्करभन्दा बढी पेट्रोल रहेको उहाँको भनाइ छ । पहिरोसँगै खसेका ठुला ढुङ्गाले ट्याङ्की माथिको भाग पुरिएको छ । पम्पको कार्यालय, इन्धन भण्डारण क्षेत्र तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेपछि विक्री ठप्प भएको छ । यसअघि पनि उक्त पेट्रोल पम्पमा पहिरोले क्षति गरेको थियो ।

पम्पको माथिल्लो भागबाट पहिरो झर्दा क्षति पुगेको यो तेस्रो पटक हो । यसअघि असारको अन्तिम साता र साउनको पहिलो सातामा पनि पहिरो झरेर पम्पमा क्षति पुगेको सञ्चालक भण्डारीले बताउनुभयो । सरकारी मापदण्डअनुसार निर्माण गरिएको पेट्रोल पम्प पटक–पटकको पहिरोको चपेटामा परेको छ । पम्पमा भएको क्षतिको विवरण सङ्कलनका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिष कर्णले बताउनुभयो ।