इटहरी। सुनसरीमा जारी कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले कप्तानगञ्जमा मृत्यु भएका दुई जनाको अन्त्येष्टिपछि जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै शनिबार बिहान ८ः३० बजेदेखि कर्फ्यु हटाई निषेधाज्ञा लागू गरिएको जानकारी दिनुभएको छ। यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम १० स्थानीय तहका विभिन्न क्षेत्रमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश लागू गरिएको थियो। अब भने सो आदेश हटाएर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा लागू भएका क्षेत्रमध्ये इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्र रहेका छन्। प्रशासनले निषेधाज्ञाको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सर्वसाधारणसँग आग्रह गरेको छ।