इटहरी। सामाजिक सद्भाव, भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले शुव्रmबार विराटनगरमा सद्भाव -याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालयकै अगुवाइमा निकालिएको सद्भाव -यालीमा विभिन्न धर्म सम्प्रदायमा आबद्ध सङ्घ संस्था र सामाजिक संस्थाको सहभागिता रहेको थियो । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा गत आइतबार राति दुई समूहबिच असमझदारी हुँदा दुई जनाको ज्यान जाने गरी भएको घटनापछि साम्प्रदायिक शान्ति बिथोलिएको थियो । त्यसपछि सुनसरीका विभिन्न पालिका हुँदै मधेशभर प्रदर्शन उग्र बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा शान्ति कायम गर्ने उद्देश्यले सद्भाव -याली निकालेको हो । कप्तानगन्जमा भएको घटनामा स्थानीय ओमप्रकाश मेहताको आइतबार राति र घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका व्रmममा मृत्यु भएको थियो । घटनामा घाइते भएका नौ जना स्थानीय युवाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । 

सामाजिक सद्भाव, सहिष्णुता कायम गर्न अपिल 

यसैबिच इनरुवा समाचारदाताका अनुसार कप्तानगन्ज घटनापछि उत्पन्न असहज अवस्था, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक सुरक्षालाई दृष्टिगत गर्दै संयमताका लागि  सामूहिक अपिल गरिएको छ । जिल्लाको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीको अगुवाइमा भएको सर्वपक्षीय छलफलबाट एकअर्कालाई सम्मान गर्ने, कोहीकसैमाथि आव्रmमण नगर्ने र सामाजिक  सद्भाव कायम राख्ने प्रतिबद्धतासहित संयमताका लागि सामूहिक अपिल गरेको हो । कप्तानगन्ज क्षेत्रमा दुई समूहबिच असमझदारी भई उत्पन्न भएको विवादलाई निरूपण गर्न तथा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक सुरक्षालाई दृष्टिगत गरी कोशी–३ स्थित राष्ट्रिय मावि शोभनपुरमा गाउँपालिका क्षेत्रभरि शान्ति तथा अमनचयन कायम गर्ने उद्देश्यले राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, धार्मिक अगुवा, बुद्धिजीवी, समाजसेवी, विद्यार्थी, महिला, पत्रकार तथा सम्पूर्ण सरोकारवाला पक्षको उपस्थितिमा सद्भाव र संयमताका लागि सामूहिक अपिल गरेको प्राध्यापक गङ्गा यादवले जानकारी दिनुभयो ।

यस्ता घटना दोहोरिन नदिन सरकारले घटनाको गम्भीर समीक्षा गरी आवश्यक कदम चालिरहेको हुँदा त्यस्ता अराजक र अवाञ्छित गतिविधि रोक्न आआफ्ना स्थानबाट आवश्यक पहल गर्न अपिल जारी गरेको छ ।