इटहरी। ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब १३ प्रतिशत बढी धान रोपाइ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा यसवर्षको हालसम्म १३ प्रतिशत बढी धान रोपाइ भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त कार्यालय प्रमुख तथा कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार यस वर्ष करिब ७८ प्रतिशत बढी रोपाइ सम्पन्न भएको छ । उहाँका अनुसार गत वर्षको यही अवधिसम्ममा करिब ६५ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको थियो । जिल्लाका ४ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उहाँका अनुसार कुल ५ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४ हजार ४ सय बढी हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । यस वर्ष समयमै वर्षा भएकाले गत वर्षको तुलनामा बढी कृषकले रोपाइ गर्न सफल भएको अधिकृत श्रेष्ठको भनाइ छ । ताप्लेजुङ सहितका जिल्लामा यस वर्ष गत फागुन अन्तिम सातादेखि नै निरन्तर वर्षा भइरहेको छ । जसका कारण कृषकलाई सिँचाइ पर्याप्त हुँदा समयमा नै धानको बिउ राखेकाले धेरै रोपाइ भएको कार्यालयको भनाइ छ ।
अधिकृत श्रेष्ठका अनुसार ताप्लेजुङमा एक महिनाको अवधिमा ५३ प्रतिशत बढी रोपाइ भएको छ । गत असार १५ गतेसम्ममा करिब २५ प्रतिशत मात्र रोपाइ थियो । असार १५ देखि यता प्रमुख सिजन भएकाले रोपाइ ह्वात्तै वृद्धि भएको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार अहिले पनि जिल्लाका होचा भूभागमा धमाधम रोपाइँको कार्य जारी रहेको छ । ताप्लेजुङमा भदौ पहिलो सातासम्म रोपाइ हुने गरेको छ । भदौ पहिलो सातासम्ममा कुल क्षेत्रफलको करिब ९५ प्रतिशत भूभागमा रोपाइ हुने कार्यालयको प्रक्षेपण रहेको बताइएको छ ।


