विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शुक्रबार राति उनीहरूलाई गोली लागेको घटनास्थलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ। स्थानीयवासी र मृतकका परिवारको आग्रहपछि परम्परागत घाटमा नभई घटनास्थललाई नै अन्तिम बिदाइको स्थल बनाइएको हो।  सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो। ओमप्रकाशको घटनाकै दिन मृत्यु भएको ‘सामान्यतया नदी वा खोलाको किनारमा अन्त्येष्टि गर्ने चलन भए पनि यसपटक स्थानीयको भावनालाई सम्मान गर्दै घटनास्थलमै दाहसंस्कार गरिएको हो,’ उनले भने। उनका अनुसार राति करिब ११ः३० बजे अन्त्येष्टि सम्पन्न भएको थियो।

घटनास्थलमै स्मृति पार्क बनाइने

सरकार पीडित परिवारबीच भएको सहमतिअनुसार गोली लागेको स्थानमा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गरिने भएको छ। स्थानीय सरकारसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइने र स्थानीयको चाहनाअनुसार घटनास्थललाई नै स्मृतिस्थलका रूपमा विकास गरिने वडाध्यक्ष मेहताले जानकारी दिए।

सुरक्षाबीच सम्पन्न अन्त्येष्टि

थियो भने जयप्रकाशको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।  सरकार र पीडित परिवारबीच सहमति भएपछि कोशी अस्पतालमा दुवै शवको पोस्टमार्टम सम्पन्न गरी शुक्रबार साँझ परिवारलाई जिम्मा लगाइएको थियो। त्यसपछि विराटनगरबाट कप्तानगन्जसम्म शवयात्रा निकालिएको थियो। केही समयका लागि शव आ–आफ्नो घरमा राखी परिवार, आफन्त, छिमेकी तथा स्थानीयले श्रद्धाञ्जली अर्पण गरेपछि राति घटनास्थलमै अन्त्येष्टि गरिएको हो।  देवानगञ्ज–४ का वडाध्यक्ष सुशीलकुमार मेहताले स्थानीय समुदाय र परिवारको साझा निर्णयअनुसार दुवै युवाको दाहसंस्कार उनीहरूलाई गोली लागेको स्थानमै गरिएको बताए। उनका अनुसार शवयात्रामा सयौं स्थानीय सहभागी भएका थिए भने अन्तिम बिदाइका क्रममा गाउँ नै शोकमा डुबेको थियो।  इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर प्रकाश पराजुलीका अनुसार शवयात्रादेखि दाहसंस्कारसम्मको सम्पूर्ण कार्यक्रम कडा सुरक्षा व्यवस्थाका बीच शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। अन्त्येष्टिपछि गाउँको अवस्था सामान्य बन्दै गएको उनले बताए।

सरकार–पीडितबीच पाँचबुँदे सहमति

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति भएको छलफलपछि शुक्रबार सरकार र पीडित परिवारबीच औपचारिक सहमति भएको थियो। सहमतिअनुसार दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने तथा परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिने उल्लेख छ।  यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सम्झौतामा समेटिएको छ। सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।

१० जना गोलीबाट घाइते

साउन १० गते दुई समुदायबीच उत्पन्न विवाद हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। प्रहरीका अनुसार उक्त घटनामा गोली लागेर १० जना घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको उपचार जारी छ। घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।  घटनापछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा आक्रमणका घटना भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। अहिले कर्फ्यु हटाइएको भए पनि जिल्लाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा भने कायम राखिएको छ।