विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी टोलका ८७ वर्षीय अजयकुमार राजवंशी रहेका छन्। प्रहरीका अनुसार राजवंशी साइकलमा घर फर्कने क्रममा निर्माणाधीन सडकको खाल्डोमा अचानक लडेर गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित प्राइम अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराट शिक्षण अस्पताल रेफर गरिएकोमा शुक्रबार दिउँसो २ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाबारे राति ९ः४५ बजे मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा निर्माणाधीन सडकमा रहेको खाल्डाखुल्डी दुर्घटनाको मुख्य कारण देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।