इटहरी : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।
भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र सङ्कलन भएको हो । आव २०८१/८२ मा पनि कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन । उक्त वर्ष रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २० करोड ८६ लाख ६९ हजार ६३१ मात्र सङ्कलन भएको थियो ।
सूचना अधिकारी लामाका अनुसार भद्रपुर नाकाबाट हाल निर्यात नहुँदा राजस्व सङ्कलन कम भएको हो ।
यस नाकाबाट विशेषगरी सुर्तीजन्य पदार्थको आयात बढी हुने गरेको उनले बताए । झापाको निर्यात व्यापारको ठूलो हिस्सा भने मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ ।


