विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–१ स्थित राम्री खोलामा बेपत्ता भएका एक पुरुष आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।  मोरङ प्रहरीका अनुसार उर्लाबारी–१ का अन्दाजी ४७ वर्षीय लक्ष्मण माझीको शव खोलाभित्र घोप्टो परेर डुबिरहेको अवस्थामा फेला परेको हो। बिहान करिब ६ः४५ बजे स्थानीयबाट सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाएको जनाएको छ। परिवारका अनुसार माझी शनिबार साँझ करिब ५ बजेदेखि सम्पर्कविहीन भएका थिए। त्यसको भोलिपल्ट बिहान खोलामा उनको शव फेला परेको हो।

मृतकको निधारमा चोट देखिएकाले मृत्यु खोलाले बगाएर भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।