इटहरी । सहयोगी मनहरू सुन्दरहरैंचाले सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले दोस्रो वृहत् भेला, भेटघाट, अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

‘सुसंस्कृत समाज, सभ्य जन, आजको आवश्यकता सहयोगी मन’ भन्ने मूल नाराका साथ शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रममा करिब १५० जना सामाजिक व्यक्तित्व तथा सहयोगी मन भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षासँग जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो ।

762585222_4427254067503298_5132239635736697333_n

संस्था दर्ता गरी सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय हुँदै आएको उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार संस्थाले आर्थिक रूपमा विपन्न तथा असहाय परिवारका लागि घर निर्माणदेखि छानो हाल्ने सम्मका सहयोग गर्दै आएको छ । आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग गर्ने कार्यलाई संस्थाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । संस्थालाई ‘आईएनजीओ’ वा ‘एनजीओ’का रूपमा विभिन्न आरोप लगाउने गरिएको तथा कुनै विदेशी संस्थाको सहयोगमा सञ्चालन भएको भन्ने भ्रम समेत फैलाइएको भन्दै अध्यक्ष अधिकारीले त्यसको खण्डन गर्नुभयो । संस्था कुनै विदेशी संस्थाबाट सञ्चालित नभई आफ्नै समाजमा रहेका सहयोगी मन भएका व्यक्तिहरूबाट रकम संकलन गरी सामाजिक सेवाका कार्य गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले समाजमा रहेका विपन्न, असहाय तथा शिक्षाबाट वञ्चित बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरूले सामाजिक सेवाका गतिविधिलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउँदै समाजका वास्तविक समस्यामा केन्द्रित भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।