इटहरी । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत लायन्स क्लब अफ बाँसबारी, लायन्स क्लब अफ बलिया तथा लियो क्लब अफ बाँसबारीको लायन्स वर्ष २०२६÷२७ को इन्डक्सन एण्ड इन्स्टलेसन समारोह शनिबार सम्पन्न भएको छ । 

शनिबार सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा आयोजित समारोहमा लायन्स वर्ष २०२५÷२६ का लायन्स क्लब अफ बाँसबारीकी अध्यक्ष पुष्पा ढुङ्गेल र लायन्स क्लब अफ बलियाकी अध्यक्ष मञ्जु बस्नेतको कार्यकाल सम्पन्न भएसँगै नयाँ नेतृत्वलाई पदस्थापना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरिया  रहनुभएको थियो । उहाँले लायन्स क्लब अफ बाँसबारीको वर्ष २०२६÷२७ का लागि प्रेसिडेन्ट पवित्रा गौतम भण्डारी, लायन्स क्लब अफ बलियाको प्रेसिडेन्ट लक्ष्मी सिग्देल तथा लियो क्लब अफ बाँसबारीको प्रेसिडेन्टमा देव न्यौपानेलाई पदस्थापना गराउनुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर  लिला प्रसाद चिमरियाले लायन्स क्लबले आगामी वर्ष २०२६÷२७ मा अटिजम भएका व्यक्तिहरूलाई समेत मध्यनजर गर्दै सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भाषणमा मात्र सीमित नभई काम र परिणाममा केन्द्रित हुनुपर्ने भन्दै समयमै योजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्नुृभयो । चिमरियाले लायन्स क्लबका गतिविधिहरू परिणाममुखी र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै नयाँ नेतृत्वले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएर समयमै कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । समाजका वास्तविक आवश्यकता पहिचान गरी त्यसअनुसार सेवा र सहयोगका कार्यक्रम सञ्चालन गर्न सके मात्रै लायन्स अभियानको उद्देश्य सार्थक हुने उहाँको भनाइ थियो ।

पदस्थापन कार्यक्रममा लायन्स तथा लियो क्लबमा आबद्ध व्यक्तिहरू, विभिन्न व्यवसायमा संलग्न व्यवसायी, सामाजिक संस्थामा कार्यरत प्रतिनिधि तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले लायन्स तथा लियो क्लबले समाजमा मानवीय सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा गर्दै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक सेवाका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । नवनियुक्त पदाधिकारीहरूले लायन्सको मूल भावना वी सर्भ लाई आत्मसात गर्दै समाजसेवा र मानवीय सहयोगका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।