इटहरी । मोरङको सुन्दरहरैंचा स्थित पूर्वाञ्चल पब्लिक स्कुलले आयोजना गरेको ‘प्रि–स्कुल ग्राजुएसन–२०८३’ समारोहमा ५६ जना बालबालिका औपचारिक रूपमा दीक्षित भएका छन्।
रंगीन बेलुनले सजिएको मञ्च र स्नातक पोशाकमा सजिएका बालबालिकाको उत्साहले कार्यक्रमलाई भावुक र अविस्मरणीय बनाएको थियो। विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले बालबालिकालाई अक्षरका साथै राम्रो संस्कार, अनुशासन र आत्मविश्वास सिकाएर जिम्मेवार नागरिक बन्ने आधार तयार पारिएको बताउनुभयो ।
प्रमुख अतिथि चौधरीले गुणस्तरीय शिक्षा समृद्ध समाजको आधार भएको उल्लेख गर्दै बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्नुभयो । त्यस्तै, अध्यक्ष ढकालले विद्यार्थीको पहिलो शैक्षिक उपलब्धि परिवारका लागि गर्वको क्षण हुने भन्दै आधुनिक र व्यावहारिक शिक्षा दिने प्रतिबद्धता जनाउनुभयो । दीक्षित ५६ बालबालिकाले गीत, नृत्य तथा कविता प्रस्तुत गरी हलमा उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए । प्रमाणपत्र ग्रहणपछि खुसी साटासाट गर्दै तस्बिर खिचेका बालबालिकाको मुस्कानले सपनाको यात्रा साना पाइलाबाटै सुरु हुने सन्देश दिएको थियो।


