इटहरी । सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनालाई आत्मसात् गर्दै सुदर्शन सेक्युरिटी सर्भिसेज प्रा.लि., इटहरी–९, सुनसरीले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ४५ भन्दा बढी युनिट रगत संकलन भएको छ ।
अक्सिजन पार्क एण्ड रिसोर्ट प्रा.लि.मा आयोजित कार्यक्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, बुढीगंगा, मोरङले प्राविधिक सहयोग गरेको थियो। रक्त अभावका कारण उपचाररत बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कम्पनीका कर्मचारी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक डम्बरबहादुर तामाङले मानव सेवालाई केन्द्रमा राखेर वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले स्वस्थ तथा योग्य व्यक्तिहरूलाई नियमित रक्तदान गर्न प्रेरित गर्दै यस अभियानले धेरै बिरामीको जीवन बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथि उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारीले मानव सेवाभन्दा ठूलो धर्म कुनै नभएको उल्लेख गर्दै रक्तदान जीवनदानको महान् कार्य भएको बताउनुभयो । उहाँले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भन्दै आगामी दिनमा पनि उद्योग वाणिज्य संघ इटहरीबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कम्पनीका अनुसार गत वर्षको वार्षिकोत्सवमा ६९ पिन्ट रगत संकलन भएको थियो। यस वर्ष पनि उल्लेखनीय सहभागिता सहित रक्तदान कार्यक्रम सम्पन्न भएको जनाइएको छ। सुदर्शन सेक्युरिटी सर्भिसेज प्रा.लि.ले आफ्नो २७ औँ स्थापना दिवसको औपचारिक वार्षिकोत्सव कार्यक्रम भने सोमबार आयोजना गर्ने जनाएको छ ।


