इटहरी । सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान तथा सहअस्तित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले इटहरीमा आयोजना गरिएको बृहत् सद्भाव ¥याली उत्साहजनक सहभागिता सहित सम्पन्न भएको छ।

छोटो समयको तयारीका बाबजुद पनि ¥यालीमा २८ भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक संघ–संस्थाको सक्रिय सहभागिता रहेको थियो। विभिन्न जातजाति, धर्म, भाषा र समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले इटहरीमा सामाजिक सद्भावप्रति रहेको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ । ¥यालीका सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वका पक्षमा सन्देशमूलक नारा सहित नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए ।

सहभागीहरूले विविधताभित्रको एकतालाई बलियो बनाउँदै सामाजिक सद्भाव कायम राख्न सबै नागरिकको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गरेका थिए । आयोजकका अनुसार पछिल्ला दिनहरूमा समाजमा देखिन सक्ने विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै सबै समुदायबीच विश्वास, सम्मान र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरूले सामाजिक सद्भाव कायम रहँदा मात्र समृद्ध र शान्त समाज निर्माण सम्भव हुने धारणा राखेका थिए । ¥याली सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण संघ–संस्था, सामाजिक अभियन्ता, स्वयंसेवक, सुरक्षाकर्मी तथा इटहरीवासी प्रति आयोजकले आभार व्यक्त गरेको छ।

आयोजकका अनुसार अपेक्षा भन्दा बढी सहभागिता रहनुले इटहरीवासी सामाजिक एकता र सद्भावप्रति सकारात्मक रहेको सन्देश दिएको छ । इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुलीले बृहत् सद्भाव ¥याली इटहरीको सामाजिक एकता, सद्भाव र सहअस्तित्वको प्रतीकका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै सबै समुदायबीच आपसी विश्वास, सहकार्य र सम्मानको भावना अझ सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो  । उहाँले शान्त, सभ्य, समावेशी र समृद्ध समाज निर्माणका लागि स्थानीय सरकार, सामाजिक संघ–संस्था, नागरिक समाज, युवा तथा आम नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो  ।