इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएको घटनापछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।  ढुंगा लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ११ः३० बजे घाँस काटिरहेका बेला माथिबाट आएको ढुंगा उनको टाउकोमा लागेको थियो। स्थानीयले ग्याँटिसबाट ढुंगा प्रहार भएको आशंका गरेका छन्। तर, ढुंगा कसले प्रहार गर्‍यो भन्ने विषय अझै पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयले निर्दोष महिलामाथि ढुंगा प्रहार गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न माग गर्दै आक्रोश व्यक्त गरेका छन्।  सम्भावित तनावलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय देवानगन्जका प्रहरी निरीक्षक प्रकाश पराजुलीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।