इटहरी  : सुनसरीको सदरमुकाम इनरुवाको जनजीवन बिस्तारै पूर्ववत् हुन थालेको छ। केही दिनयता देखिएको असहज अवस्था तथा बन्द–हडतालको प्रभाव कम हुँदै जाँदा बजार क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको हो।  बजारमा रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएका छन्। लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनमा आएपछि आवागमन सहज बन्दै गएको छ।  त्यसैगरी, बजारका मुख्य चोक तथा सडक किनारमा रहेका पसल, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरू पनि क्रमशः खुल्न थालेका छन्।

पसलहरू सञ्चालनमा आएपछि किनमेल गर्ने उपभोक्ताको चहलपहल पनि बढ्दै गएको स्थानीय व्यवसायीहरूले बताएका छन्।  जनजीवन सामान्य बन्दै गएसँगै स्थानीय बासिन्दा, व्यापारी तथा सर्वसाधारणले राहत महसुस गर्न थालेका छन्। सुरक्षा निकायको सतर्कता र स्थानीय तहमा भएको समन्वयका कारण इनरुवा बजारको वातावरण शान्त, सुरक्षित र सामान्य बन्दै गएको छ।