इटहरी । नेपाल बार एशोसिएशनले सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते भएको घटनाको निष्पक्ष अध्ययन तथा तथ्य संकलन गर्न नागरिकस्तरीय अध्ययन समिति गठन गरेको छ।
बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पदम प्रसाद लिम्बुको संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरिएको हो। समितिमा पत्रकार महासंघ , कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको छ।समितिलाई घटनास्थलमा पुगेर प्रत्यक्ष अध्ययन गर्ने, पीडित, स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी घटनाको यथार्थ अवस्था, कारण र प्रभावबारे तथ्य संकलन गर्ने तथा आफ्नो निष्कर्षसहितको प्रतिवेदन नेपाल बार एशोसिएशनसमक्ष पेश गर्ने जिम्मेवारी दिइएको छ।
नेपाल बार एशोसिएशनले देवानगञ्ज घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र र निष्पक्ष अध्ययन आवश्यक रहेको निष्कर्षसहित समिति गठन गरिएको जनाएको छ। समितिले अध्ययन कार्य शीघ्र सुरू गरेको छ । अध्ययनवाट प्राप्त निष्कर्षका आधारमा आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्ने संयोजक लिम्बुले जानकारी दिए ।


