इटहरी  ।  ताप्लेजुङ र पाँचथरबाट इलाम र झापा नपुगी प्रदेश राजधानी विराटनगर पुग्न सकिने गरी कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्बा–लिम्बा सडक निर्माण कम्पनीले काम छाडेपछि अलपत्र परेको छ। कोशी प्रदेश सरकारले ताप्लेजुङ र पाँचथरलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने छोटो मार्गका रूपमा २०८० सालमा यो सडक निर्माण सुरु गरेको थियो। २९ दशमलव ६० किलोमिटर लामो उक्त सडकको २०८० मंसिर २२ गते तत्कालीन मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गर्नुभएको थियो।  राँके–रवि र भेडेटार हुँदै जानुपर्ने अवस्थालाई हटाउँदै फिदिमबाट धनकुटाको चौबिसे हुँदै मोरङको लेटाङ–कानेपोखरी सडकमार्फत महेन्द्र राजमार्गसँग जोडिने यो सडक मेची राजमार्ग हुँदै विराटनगर पुग्ने दूरीभन्दा झन्डै आधा छोटो हुने बताइएको छ।

८७ करोड तीन लाख ५३ हजार २७ रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सन्तोषी–जोया एन्ड ब्रदर्स जेभीले ठेक्का लिएको थियो। सम्झौताअनुसार २०८३ वैशाख २८ गते पूर्वाधार विकास कार्यालय कोशी प्रदेशलाई सडक हस्तान्तरण गर्नुपर्ने थियो। तर, सम्झौता अवधि सकिँदासम्म सडकको भौतिक प्रगति ४२ प्रतिशत र वित्तीय प्रगति ३४ प्रतिशत मात्रै रहेको छ।  पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर खरानन्द ईसरले मध्यपूर्वमा जारी युद्धका कारण बिटुमिन (अलकत्रा) अभाव हुँदा कालोपत्रेको काम प्रभावित भएको बताउनुभयो। “ठेक्का लागेपछि पनि करिब ६ महिनापछि मात्रै काम सुरु भयो। हालसम्म ६ किलोमिटर सडक कालोपत्रे भएको छ। थप आठ किलोमिटर कालोपत्रेका लागि तयारी भए पनि बिटुमिन अभावका कारण काम रोकिएको हो,” उहाँले भन्नुभयो। उहाँले सडकको म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

तर, स्थानीयवासीले भने निर्माण कम्पनीले पर्याप्त काम नगरेको गुनासो गरेका छन्। लेटाङ नगरपालिका–६ गुवाबारी सङ्गमटोलका सुरज न्यौपानेले सडक निर्माणका क्रममा काटिएको पहाडको माटो तथा ढुंगा लामो समयसम्म नहटाउँदा आवतजावतमा समस्या भएको बताउनुभयो। लेटाङ–६ देउजे टोलकी दिलकुमारी लिम्बूले पनि सडक निर्माणका नाममा बाटो भत्काएर अलपत्र छाडिएको गुनासो गर्नुभयो। “सडक बनाएको हो कि भत्काएको हो भन्ने अवस्था छ। बनेको भए गाडी चलाउन र मानिस हिँड्न सहज हुनुपर्ने हो। तर, भत्काएर लथालिङ छाड्दा हामीले दुःख पाइरहेका छौँ,” उहाँले भन्नुभयो।  लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले समयमा सडक निर्माण सम्पन्न नहुँदा स्थानीय तहले आलोचना खेप्नुपरेको बताउनुभयो।  नगर प्रमुख लावतीले कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्बा–लिम्बा सडक कोशी प्रदेशको उत्तर–पूर्वी हिमाली जिल्लालाई तराईसँग जोड्ने महत्त्वपूर्ण छोटो मार्ग भएको बताउनुभयो।  तर, हाल यो सडक स्थानीयका लागि सपनाजस्तै बनेको उहाँको भनाइ छ।

यस सडकको इतिहास पनि लामो छ। २०३६ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटाको ६ नं। बुधबारेमा सडकको ट्र्याक खोल्न शिलान्यास गर्नुभएको थियो। त्यसयता सडक कालोपत्रेका लागि पटक–पटक पहल भए पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। करिब ३८ वर्षपछि ठेक्का लागेर निर्माण सुरु भएको सडक २०८३ वैशाखमा सम्पन्न हुनुपर्ने भए पनि हालसम्म ४२ प्रतिशत मात्रै काम भएको छ। स्थानीयका अनुसार अझै करिब आठ किलोमिटर सडक चौडा बनाउने ९भित्ता काट्ने० कामसमेत सुरु भएको छैन।  सडक निर्माण सुरु भएपछि उत्साहित भएका लेटाङ–८ याङ्सिलाका कृष्णबहादुर राईले सडक पूरा हुने आशा अधुरै रहेको बताउनुभयो। “सडक बन्ला र नाम्लो बिसाउँला भन्ने आशा थियो, तर पानीको फोकाजस्तै भयो,” उहाँले भन्नुभयो।

कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्बा–लिम्बा सडकको लेटाङ–६ गुवाबारी खण्डमा भित्ता काटेर छाडिएको निर्माण सामग्री नहटाउँदा सडक साँघुरो हुनुका साथै यात्रा जोखिमपूर्ण बनेको स्थानीयको भनाइ छ।