इटहरी । राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डबारे स्वविवेक उजुरी ग्रहण गर्दै छानबिन प्रक्रिया सुरु गरेको छ।  आयोगले घटनाको स्थलगत अनुसन्धान सुरु गर्नुका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीलाई घटनासम्बन्धी विस्तृत प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।  आयोगको विराटनगर कार्यालयका निमित्त कार्यालय प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्र पठाउँदै आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।  साउन १० गते राति देवानगन्ज–३ कप्तानगन्जमा दुई समुदायबीच उत्पन्न विवाद उग्र बन्दा गोली चलेको, त्यसक्रममा दुई जनाको मृत्यु भएको तथा केही व्यक्ति घाइते भएको घटनालाई आधार बनाएर आयोगले स्वविवेक उजुरीका आधारमा अनुसन्धान थालेको हो। नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ११ बमोजिम आयोगले घटनाको वास्तविकता बुझ्न प्रहरीसँग विभिन्न विवरण माग गरेको जनाएको छ।

आयोगले घटनाको सुरुआत कसरी भयो, घटनास्थलमा नेपाल प्रहरीबाट कति जनशक्ति परिचालन गरिएको थियो, परिचालित सुरक्षाकर्मीको नाम र सम्पर्क विवरण, बल प्रयोगको अवस्था तथा आवश्यकताभन्दा बढी बल प्रयोग भए वा नभएको विषयमा स्पष्ट विवरण माग गरेको छ। त्यसैगरी गोली चलाउने पक्षको पहिचान, घटनामा मृत्यु भएका र घाइते भएका व्यक्तिको नामावली तथा घटनाको समग्र विवरण पनि उपलब्ध गराउन आयोगले निर्देशन दिएको छ।  आयोगले मृत्यु भएका व्यक्तिको पोस्टमार्टम प्रतिवेदन, लासजाँच प्रकृति मुचुल्का, घाइतेहरूको घाउ जाँच प्रतिवेदन लगायत घटनासँग सम्बन्धित आवश्यक कागजातका प्रमाणित प्रतिलिपिसमेत पठाउन जिल्ला प्रहरी कार्यालय सुनसरीलाई भनेको छ।    पत्र प्राप्त भएको मितिले सात दिनभित्र सबै विवरण उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्न आयोगले आग्रह गरेको छ। निमित्त प्रमुख पाठकले आइतबारदेखि आयोगको टोलीले घटनास्थलको स्थलगत अनुगमन तथा तथ्य संकलन सुरु गरेको जानकारी दिए।

उनका अनुसार प्रहरीसँग घटनासम्बन्धी सम्पूर्ण विवरण माग गरिसकिएको छ भने प्राप्त हुने तथ्य र स्थलगत अध्ययनका आधारमा आयोगले थप अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।