इटहरी । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुरमा गएराति भएको आगलागीबाट एउटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरीका अनुसार गएराति करिब १२ः२० बजे मोहम्मद मियाको टिनको छाना, काठ र सिमेन्टको पिलरले बनेको गोठमा अज्ञात कारणबाट आगलागी भएको हो।
आगलागीबाट गोठभित्र रहेका तीन वटा बाख्राका पाठी र एउटा बोका जलेर मरेका छन्। गोठसहित पशुचौपायाको गरी करिब एक लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
घटनामा मानवीय क्षति भने भएको छैन। सशस्त्र प्रहरी बल साम्बलाबाट खटिएको टोली, नेपाल प्रहरी, स्थानीयवासी र इनरुवा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।


