इटहरी ।  झापामा पछिल्ला दिनहरूमा भारतबाट भन्सार छलेर सामान भित्र्याउने गतिविधि बढ्दै गएको देखिएको छ। प्रहरीले विभिन्न स्थानमा निगरानी बढाउँदै जाँदा दुई दिनको अवधिमा लाखौं रुपैयाँ बराबरका अवैध सामान र ती ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरेको छ।

आइतवार   साँझ दमक–८ स्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फको भित्री सडकमा इलाका प्रहरी कार्यालय दमकको टोलीले मे १ ह ७४०१ नम्बरको अटोलाई शंकाका आधारमा रोक्न खोज्दा चालक सवारी छाडेर फरार भएको प्रहरीले जनाएको छ। अटोको खानतलासीका क्रममा भन्सार प्रक्रिया पूरा नगरी भारतबाट ल्याइएका कपडा तथा साडी फेला परेका थिए। बरामद कपडाको अनुमानित मूल्य एक लाख ५० हजार रुपैयाँ रहेको छ भने अटोको मूल्य करिब दुई लाख ५० हजार रुपैयाँ आँकलन गरिएको प्रहरीले जनाएको छ। करिब चार लाख रुपैयाँ बराबरको सामान र अटो नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखी फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसअघि शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–१० मा शंकास्पद अवस्थामा गुडिरहेका दुई वटा सिटी सफारी जाँच गर्दा भन्सार छली ल्याइएको पर्दाको कपडा बरामद गरेको थियो। प्रहरीका अनुसार प्र।१–०१–००१ ह ८७६० र प्र।१–०१–००१ ह ९५४४ नम्बरका सिटी सफारीबाट करिब ८७ हजार ५०० रुपैयाँ बराबरको कपडा फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा सामान धनी अर्जुनधारा–।।। निवासी ५३ वर्षीया सुधादेवी खड्का ९निरौला० तथा सिटी चालक मेचीनगर–७ का ३० वर्षीय दिपेश थापा र मेचीनगर–६ का ४५ वर्षीय प्रेमबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको थियो।

दुवै सिटी सफारीको अनुमानित मूल्य चार लाख रुपैयाँ कायम गरिएको छ। बरामद सामानसहित सवारीसाधनको कुल मूल्य चार लाख ८७ हजार ५०० रुपैयाँ पुगेको प्रहरीले जनाएको छ। आवश्यक कारबाहीका लागि उनीहरूलाई बरामद सामान र सवारीसाधनसहित भद्रपुर भन्सार कार्यालय बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि १४ गतेसम्म मात्रै जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइएका १४ लाख ५२ हजार ७८० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरिएको छ। सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीको निगरानी थप कडा पारिएको जनाइएको छ।