इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावित क्षेत्रको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्थलगत निरीक्षण गर्नुभएको छ।  चार दिनदेखि सुनसरीमा रहनुभएकी मन्त्री मेहताले पीडितलाई न्याय, आवश्यक राहत, पुनःस्थापना तथा क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धतासहित प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो। मन्त्री मेहताले सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपककुमार साह तथा राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका जिल्ला सभापति सागर दाहालसहित प्रभावित क्षेत्रको निरीक्षण गर्दै पीडित घरधनी, व्यवसायी, प्रत्यक्षदर्शी तथा स्थानीयसँग भेटघाट गर्नुभयो।

अनुगमनका क्रममा टोलीले पहिलो दिन कोशी कटान क्षेत्र, फूलचोकस्थित ब्रदर्स हार्डवेयर, भोक्राहा–चिरौलीचोकस्थित बेचन साहको पान पसल र फलफूल पसल तथा इनरुवा–४ स्थित हैदर मन्सुरीको मोटरसाइकल ग्यारेजलगायत प्रभावित स्थानको निरीक्षण गरी क्षतिको अवस्था बुझ्नुका साथै पीडितसँग छलफल गरेको थियो।

दोस्रो र तेस्रो दिन हरिनगर गाउँपालिकाको घुस्की र गौतमपुर क्षेत्रमा रहेका धार्मिक संस्था, सार्वजनिक तथा केही निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडको पनि निरीक्षण गरिएको थियो। त्यस क्रममा मन्त्री मेहताले पीडितका समस्या सम्बन्धित निकायसमक्ष पुर्‍याई राहत, पुनःस्थापना तथा क्षतिपूर्तिका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।  अनुगमन हुन बाँकी रहेका अन्य प्रभावित स्थानमा पनि प्रतिनिधिसभा सदस्य दीपककुमार साह र सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले चाँडै स्थलगत निरीक्षण गरी पीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाका नेता धर्मवीर आर्यले जानकारी दिनुभयो। 

प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट प्रभावितहरूले मन्त्रीको स्थलगत निरीक्षणपछि आफूहरूले न्याय, राहत र क्षतिपूर्ति पाउने अपेक्षा व्यक्त गरेका छन्।