इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीका बिषयमा नेकपा एमालेभित्र विवाद भएपछि एमाले र नेकपाको सरकार गठनमा ढिलाई भएको छ ।
एमाले र नेकपाबीच भएको सहमतिपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयास भएको छ । तर मुख्यमन्त्रीका बिषयमा एमालेभित्र विवाद भएपनि सरकार गठनमा ढिलाई भएको हो । नेकपा एमाले र नेकपा बीच कोशी प्रदेशमा एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने वा अर्को अनुहार ल्याउने विषयमा एमालेभित्र विवाद छ ।
मुख्यमन्त्रीका बिषयमा विवाद देखिएपछि नेकपा एमाले कोशी प्रदेश समितिले प्रदेश सांसदहरुसंग छलफल थालेको छ । नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले एक देखि डेढ साता भित्रमा नेतृत्वबारे उठेको विवाद समाधान गरिने दावी गर्नुभयो । उहाले पार्टी अध्यक्ष केपी ओलीले दिएको निर्देशन अक्षरशः पालना गराउन पार्टी र संसदीय दल भित्र छलफल शुरु गरिएको जानकारी दिनुभयो । यता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भने आफु निर्विकल्प नरहेको भएपनि वर्तमान परिवेशमा पार्टीलाई एकताबद्ध गर्ने काम आफुले गर्ने बताउनुभयो ।
उहाँले धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार भएकाले यसलाई दृष्टिगत गर्न आग्रह गर्नुभयो । सांसदहरुको छलफल कार्यक्रममा २९ जना प्रदेश सांसदहरु सहभागि भएको प्रदेश सांसद पाँचकर्ण राईले जानकारी दिनुभयो । कोशी प्रदेशमा नेकपा एमालेका उपसभामुख सहित ४० जना प्रदेश सांसदहरु रहेका छन् ।


