इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित द राइजिङ बोर्डिङ स्कुलको सभा हलमा एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न भएको छ। ’बथान’को आयोजना तथा ’बि एन्जल ग्रुप’को कार्यक्रम संयोजनमा सञ्चालित उक्त कार्यशालामा ७५ भन्दा बढी महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

आयोजकका अनुसार सम्भवतः नेपालमै पहिलोपटक महिलाहरूका लागि मात्र भनेर यस्तो विशेष नृत्य कार्यशालाको आयोजना गरिएको हो। कुल चार घण्टासम्म सञ्चालन भएको कार्यशालामा काठमाडौँबाट आउनुभएकी मुख्य प्रशिक्षक प्रनिषा सुनारले सहभागीहरूलाई हिपहप नृत्यका आधारभूत ’फाउन्डेसन’ र विभिन्न टेक्निकहरूबारे प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो। नृत्य निर्देशक लक्ष्मी समाल मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नृत्य निर्देशक प्रविणा मगर प्रमुख अतिथि रहनुभएको थियो।

त्यसैगरी कार्यक्रमको उद्घोषकका रूपमा नृत्य निर्देशक भूमिका तामाङले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यशालाको समापन सत्रमा सक्रिय रूपमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई आयोजकका तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो।