इटहरी ।  आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निरीक्षण गर्नुभएको छ ।   सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा गोली काण्डपछि उत्पन्न विवाद र आन्दोलनका क्रममा भएको क्षति र अवस्थाका बारेमा मन्त्री मेहताले निरीक्षण गर्नुभएको हो । मन्त्री मेहताले सबैलाई न्याय र आवश्यक राहत, पुनस्र्थापना तथा क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आन्दोलनका व्रmममा भएको क्षति प्रभावित स्थानको स्थलगत अनुगमन गर्दै पीडित घरधनी, व्यवसायी, प्रत्यक्षदर्शी तथा स्थानीयसँग भेटघाट गर्नुभएको छ । अनुगमनका क्रममा टोलीले पहिलो दिन कोशी कटान क्षेत्र, फूलचोकस्थित ब्रदर्श हार्डवेयर, भोक्राहा–चिरौलीचोक स्थित बेचन साहको पान पसल तथा फलफूल पसल, इनरुवा–४ स्थित हेदर मन्सुरीको मोटरसाइकल ग्यारेजलगायतका प्रभावित स्थानको निरीक्षण गरी क्षतिको अवस्था बुझ्नुका साथै पीडितसँग प्रत्यक्ष छलफल गरेको थियो ।  दोस्रो र तेस्रो दिन हरिनगर गाउँपालिकाको घुस्की, गौतमपुर क्षेत्रको धार्मिक संस्थासहितको सार्वजनिक र केही निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडको अनुगमन गर्नुभएको छ । उहाँले पीडितहरूको समस्या सम्बन्धित निकायसमक्ष पु-याई आवश्यक राहत, पुनस्र्थापना तथा क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

हटाइयो निषेध आदेश 

सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्ज गोली काण्डपछि उत्पन्न अवस्था नियन्त्रणका लागि लगाइएको निषेध आदेश केही क्षेत्रमा मात्र सीमित गरिएको छ । पाँच दिनसम्म सुनसरीको पूर्वपश्चिम राजमार्गमा लगाएको कफ्र्यु आदेश शनिबारदेखि हटाएर निषेध आदेश जारी भएकोमा सोमबार देवानगन्ज र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश जारी गरेको छ ।  सोमबार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सूचना जारी गर्नुहुँदै दिउँसो ५ बजेसम्मका लागि देवानगन्ज र हरिनगर निषेध आदेश जारी गर्नुभएको छ । दुई स्थानीय तहबाहेक अन्य क्षेत्रमा निषेध आदेशसमेत हटाएको उहाँले जानकारी दिनुभयो ।  गत सोमबारदेखि शनिबार बिहानसम्म प्रशासनले इटहरी पकलीदेखि कोशी ब्यारेज क्षेत्रमा आवतजावत तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गर्ने गरी कफ्र्यु जारी गरेको थियो । कफ्र्यु र निषेध हटेको क्षेत्रमा पूर्व इटहरी उपमहानगरपालिकाको पकली चोकसम्म, पश्चिम कोशी गाउँपालिका–८, कोशी ब्यारेजको पुल, भोक्राहा नरसिंह, इनरुवा, रामधुनी, बर्जु, दुहबी, गढीसहितको रहेको छ ।