इटहरी । सप्तकोशी नदीले श्रीलङ्का टापु क्षेत्रमा तीव्र कटान सुरु गरेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षा निकाय संयुक्त रूपमा नियन्त्रणमा जुटेका छन्। सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाको प्रत्यक्ष सहकार्यमा बस्ती तथा खेतीयोग्य जमिन जोगाउन आपत्कालीन तटबन्धनको काम तीव्र पारिएको हो।

बराहक्षेत्र–६ र ९ स्थित गरैया तथा चिलैया क्षेत्रमा एक सातादेखि कोशीले कटान बढाएपछि कटान रोक्न बराहक्षेत्रका नगर प्रमुख रमेश कार्की र बेलकाका नगर प्रमुख अशोक कार्की स्थलगत रूपमै खटिनुभएको छ । दुवै नगरपालिकाले माटो, बोरा र बाँस उपलब्ध गराएका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले श्रमदानमार्फत जैविक तटबन्धन निर्माण गरिरहेका छन्। गत हिउँदमा बनेका १८ वटा स्परमध्ये केही कटानका कारण डुब्न थालेपछि तत्काल बाँस, रुखका हाँगा र माटो भरिएका बोरा हालेर नदीको बहाव मोड्ने प्रयास भइरहेको छ।

बराहक्षेत्रका प्रमुख कार्कीका अनुसार दीर्घकालीन समाधानका लागि कोशी परियोजना, जिल्ला प्रशासन र भारतीय पक्षसँग आवश्यक समन्वय भइरहेको छ। करिब तीन हजार जनसङ्ख्या रहेको श्रीलङ्का टापुका बासिन्दा कृषि र पशुपालनमा निर्भर छन्। स्थानीय जयराम माझीले जैविक तटबन्धन अस्थायी समाधान मात्र भएकाले सरकारले दिगो व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो ।