इटहरी । सुनसरीको धरान र इनरुवामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। दुई फरक घटनामा दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी गस्ती टोलीले धरान उपमहानगरपालिका–११, बानडाँडामा पैदल हिँडिरहेका धरान–११ का ३१ वर्षीय डिकेन्द्र तामाङ र धनकुटाको पाख्रिबास नगरपालिका–५ का २० वर्षीय प्रजोल राईलाई शङ्काका आधारमा जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट डिसाइक्लो ९०० पिस र ट्रामोल ९०० पिस बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको छ।

यस्तै, सोमबार राति करिब ९स्३० बजे इनरुवा नगरपालिका–१० स्थित टोकी नहर चोकमा रहेको अस्थायी प्रहरी पोस्ट साम्बालाबाट खटिएको गस्ती टोलीले जाल्पापुरबाट टोकी नहरतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल रोक्न खोज्दा मोटरसाइकलमा सवार दुई जना प्लास्टिकको झोला फालेर फरार भएका थिए। प्रहरीले उक्त झोला जाँच गर्दा स्पास्मो ५ हजार पिस र ट्रामोल ५ हजार पिस बरामद गरेको जनाएको छ।

बरामद गरिएको लागूऔषध जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, फरार मोटरसाइकल र त्यसमा सवार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।