इटहरी । मोरङको पथरीशनिश्चरे–३ स्थित प्यागोडा मोडल सेकेन्डरी इङ्ग्लिस स्कुलले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। 

विद्यालयले शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षामा कक्षागत रूपमा सर्वोत्कृष्ट नतिजा ल्याउने १९ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो। यसका लागि विद्यालयले कुल ९५ हजार रुपैयाँ वितरण गरेको जनाएको छ। विद्यालयका प्रधानाध्यापक रमेश कुमार कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक इन्द्र गौतमले गर्नुभएको थियो भने विद्यालय सन्चलक खगेन्द्र  लुइँटेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

विद्यालयका अनुसार उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै अध्ययन प्रति थप उत्साह र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयले आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।