इटहरी : सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनाका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्तिम पोखरेलले जानकारी दिए।

एक साताअघि सुनसरी र केही दिनअघि सिरहामा दुई समूहबीच भएको झडपका क्रममा चार जनाको मृत्यु भएको थियो। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहतासहित सिरहाका गणेश यादवको ज्यान गएको थियो। सरकारले मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णयसँगै घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने जनाएको छ। घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था सामान्य बनाउन प्रशासनले आवश्यक समन्वय गरिरहेको जनाएको छ।