इटहरी: थाइल्याण्डको पट्टायामा आयोजित "9th Heroes International Taekwondo Championship 2026" मा बुढीगंगा तेक्वान्दो डोजाङले तीन वटा कांस्य हासिल गरेको छ।
३० भन्दा बढी देशका चार हजारभन्दा बढी खेलाडी सहभागी भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा बुढीगंगा तेक्वान्दो डोजाङका तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जित्न सफल भएका हुन्।
कांस्य पदक विजेतामा बिनिशा राई (अन्डर–३८ केजी), ओजस्वी बरुवाल (अन्डर–३१ केजी) र सर्वज्ञ श्रेष्ठ (६५ केजीमाथि) रहेका छन्।
डोजाङका अनुसार विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै पदक जित्नु खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन, आत्मविश्वास, प्रशिक्षकको समर्पण र अभिभावकहरूको विश्वासको प्रतिफल हो।
बुढीगंगा तेक्वान्दो डोजाङले खेलाडीहरूको क्षमता विकास, अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि तथा नेपाली तेक्वान्दोको पहिचानलाई विश्वमाझ स्थापित गर्ने उद्देश्यका साथ निरन्तर काम गर्दै आएको जनाएको छ। यस उपलब्धिले डोजाङलाई आगामी दिनमा अझ जिम्मेवार र प्रेरित बनाएको उल्लेख गरिएको छ।
डोजाङले देशभरका तेक्वान्दो डोजाङहरूलाई पनि आफ्ना खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता पदक जित्ने अवसर मात्र नभई विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने, नयाँ अनुभव हासिल गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा नेपालको झण्डालाई विश्वमञ्चमा फहराउने अवसर भएको डोजाङको भनाइ छ।
यस ऐतिहासिक सफलतामा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, अभिभावक, शुभेच्छुक तथा सहयोगी सबैप्रति बुढीगंगा तेक्वान्दो डोजाङले आभार व्यक्त गर्दै आगामी दिनमा अझ उच्च उपलब्धिका लागि निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।


