इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा निर्माणाधीन ’प्रिफ्याब शोकसभा तथा सार्वजनिक क्रियापुत्री भवनको पछाडिपट्टि पहिरो जाँदा संरक्षणका लागि बनाइएको पर्खाल भत्किएको छ ।
नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय मार्फत रत्न काशी कन्स्ट्रक्सन, बुढीगंगा–३ ले निर्माण गरिरहेको उक्त आयोजनाको सम्झौता २०८२ साल चैत १२ गते भएको थियो । २०८३ साल असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत ३७ लाख ३६ हजार ५ सय ६० रुपैयाँ ५४ पैसा रहेको छ । निरन्तर वर्षापछि आएको पहिरोले भवनको पछाडिपट्टि पहिरो जाँदा संरक्षणका लागि बनाइएको पर्खाल भत्किएपछि संरचनामा क्षति पुगेको हो ।
यद्यपि, भवन हालसम्म निर्माण कम्पनीबाट नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छैन । स्थानीयवासीले वर्षायाममा थप पहिरोको जोखिम रहेकाले तत्काल प्राविधिक टोली खटाई क्षतिको मूल्याङ्कन गर्न र आवश्यक मर्मत तथा संरक्षणका काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । सार्वजनिक प्रयोजनका लागि निर्माण भइरहेको महत्वपूर्ण भवन हस्तान्तरण अघि नै क्षति पुगेपछि निर्माणको गुणस्तर, भू–जोखिमको अवस्था र संरक्षण संरचनाको प्रभावकारिता बारे समेत विस्तृत प्राविधिक अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ ।


