इटहरी । इटहरी उपमहानगरपालिका–९ भद्रटोलस्थित नन्द बिष्टको घरमा डेरा गरी बस्दै आएका जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा पक्राउ परेका उनका बुबा, सौतेनी आमा र दुई काकालाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धि सागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बुधबार सरोजको शव मावली पक्षलाई जानकारी नै नदिई दाहसंस्कार गर्न लागिएको भन्दै उनका साथीहरू र विद्यार्थीहरूले विरोध जनाएका थिए। उनीहरूले सरोजलाई परिवारकै शारीरिक तथा मानसिक यातनाका कारण आत्महत्या गर्न बाध्य पारिएको दाबी गर्दै शव नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धानको माग सहित आन्दोलन सुरु गरेका थिए।

आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले सरोज बस्दै आएको घर घेराउ गर्दै घटनाको सूक्ष्म अनुसन्धान गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए। आन्दोलन चर्किएपछि प्रहरीले सरोजका बुबा, सौतेनी आमा र दुई काकालाई पक्राउ गरेको हो। त्यसपछि शवलाई थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) को शवगृहमा राखिएको थियो। बुधबार साँझ विद्यार्थीहरूले श्रद्धाञ्जली ¥याली तथा कोणसभा आयोजना गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग दोहोर्याएका थिए । उनीहरूले सरोजको आँखामा स्पष्ट चोट देखिएको भए पनि प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले त्यसतर्फ चासो नदेखाएको र आन्दोलनपछि मात्र पक्राउ प्रक्रिया अघि बढाएको भन्दै प्रहरीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

बिहीबार पनि विद्यार्थीहरूले इटहरीको मुख्य चोकमा प्रदर्शन गर्दै सरोजलाई न्याय दिन, पक्राउ परेकाहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन तथा निष्पक्ष अनुसन्धान गर्न माग गरेका थिए। उनीहरूले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाहीका लागि सहयोग गर्न आग्रह गरेका थिए । मेयर पौडेलले सरोजको मृत्यु दुःखद भएको उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियामा आफूबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुृभएको छ ।