काठमाडौं । फ्रन्टलाइन अस्पतालले पहिलो पटक सफलतापूर्वक मिनिमली इनभेसिभ कार्डियाक सर्जरी (MICS) अन्तर्गत ओपन हार्ट सर्जरी सम्पन्न गरेको जनाएको छ। अस्पतालका अनुसार उक्त शल्यक्रियामार्फत २२ वर्षीय एक बिरामीको एट्रियल सेप्टल डिफेक्ट (ASD) अर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको हो।
अस्पतालले आर्थिक रूपमा कमजोर रहेका बिरामीलाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयू सेवा, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ।

वरिष्ठ कार्डियाक सर्जन प्रा. डा. अनिल भट्टराईको नेतृत्वमा सम्पन्न शल्यक्रियामा मिनिमली इनभेसिभ प्रविधि प्रयोग गरिएको अस्पतालले जनाएको छ। यस प्रविधिबाट बिरामीलाई कम पीडा, कम रक्तस्राव, संक्रमणको न्यून जोखिम तथा छिटो स्वास्थ्य लाभ हुने विश्वास अस्पतालको छ।
अस्पतालका अध्यक्ष नवराज पाण्डेले आर्थिक अभावका कारण कुनै पनि नागरिक जीवनरक्षक उपचारबाट वञ्चित हुन नहुने विश्वासका साथ भविष्यमा पनि यस्ता सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसैगरी अस्पतालका प्रमुख कार्यकारी अधिकृत (CEO) डा. अशोक वर्धनले यो उपलब्धिले फ्रन्टलाइन अस्पतालको आधुनिक पूर्वाधार, दक्ष विशेषज्ञ टोली तथा उपचार क्षमताको पुष्टि गरेको उल्लेख गर्दै नेपालमै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताएका छन्।
अस्पतालले आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, दक्ष चिकित्सक र सुरक्षित उपचार प्रणालीमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।


