इटहरी । जुटले राम्रो बजार मूल्य पाउन थालेपछि कोशी प्रदेशका किसान फेरि जुट खेतीमा फर्केका छन् । दुई वर्षदेखि आकर्षक मूल्क पाएपछि किसानले जुट खेती विस्तार गरेको पाइएको छ । क्षेत्र विस्तारसँगै जुट उत्पादन बढ्ने भएको छ । यस वर्ष जुटको उत्पादन गत वर्षको तुलनामा झन्डै दोब्बरले वृद्धि हुने जुट उद्योगीले अनुमान गरेका छन् । सरकारी निकायले भने दोब्बर वृद्धि नहुने तर गत वर्षभन्दा राम्रो वृद्धि हुने जानकारी दिएका छन् । जुटको उत्पादन वृद्धिको सूचना पाएपछि कच्चा पदार्थको अभाव झेलिरहेका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगमा उत्साह जगाएको छ । कुनै समय ‘सुनौलो रेसा’ का रूपमा चिनिने जुट खेती मजदुर अभाव र न्यून मूल्यका कारण सङ्कटमा परेको थियो । यस वर्ष मूल्यमा आएको सुधार र खेती गर्ने प्रविधिमा भएको सहजताका कारण उत्पादनमा उल्लेख्य सुधार आउने देखिएको हो । जुट उद्योगीका अनुसार गत वर्ष कोशी प्रदेशमा करिब आठ हजार मेट्रिक टन जुट उत्पादन भएकोमा यस वर्ष त्यो बढेर १५ देखि १६ हजार मेट्रिक टनसम्म पुग्ने अनुमान छ । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार सुनसरीमा मात्रै यस वर्ष दुई हजार एक बिघा क्षेत्रफलमा जुट खेती गरिएको छ, जहाँबाट दुई हजार एक सय टन जुट उत्पादन हुने अनुमान छ । मोरङमा पनि जुट खेतीको क्षेत्रफल विस्तार भएको प्रारम्भिक तथ्याङ्क छ । यता झापामा भने खेती खासै नबढे पनि सरकारले किसानलाई नगद प्रोत्साहन दिने तयारी गरेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले झापा गाउँपालिका, कचनाकवललगायतका क्षेत्रमा खेती सीमित रहेको बताउँदै किसानलाई प्रतिकट्ठा एक हजारदेखि एक हजार पाँच सय रुपियाँसम्म प्रोत्साहन दिने कार्यविधि बनिरहेको जानकारी दिनुभयो ।
निजी क्षेत्र अन्तर्गत गोल्छा अर्गनाइजेसनका प्रतिनिधि सोमनाथ अधिकारी यस वर्ष जुट खेती सकारात्मक रहेको बताउनुहुन्छ । जुट उत्पादक किसानसँग नियमित सम्पर्कमा रहनुभएका अधिकारीका अनुसार यस वर्ष उत्पादनमा उल्लेख्य वृद्धि हुने छ । खेती गर्ने शैलीमा आएको आधुनिकताले पनि किसानलाई राहत दिएको उहाँको भनाइ छ । अहिले ट्र्याक्टरको प्रयोग र झार मार्ने विषादी तथा झुसिले किरा नियन्त्रण गर्ने विषादी पनि प्रयोगमा ल्याउन थालेकाले उत्पादन सुधारसँगै उत्पादन लागत निकै घटेको छ ।” जुट काटेपछि सोही खेतमा थप मल नहाली धान वा तोरी लगाउन सकिने र जुटको पातले माटोलाई उर्वर बनाउने प्राविधिक फाइदाले पनि किसानलाई थप लाभ मिलेको छ । अहिले बजारमा कच्चा जुट प्रतिकिलो १०८ देखि ११० रुपियाँसम्ममा कारोबार भइरहेको छ । यो मूल्य १३० रुपियाँसम्म पुग्न सक्ने उद्योगीको अनुमान छ । यद्यपि जुटको मूल्यमा भारत र बङ्गलादेशको बजारले प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो स्थिर भने रहँदैन । गत वर्ष बङ्गलादेश र भारतमा उत्पादन घट्दा नेपालका उद्योगले कच्चा पदार्थको ठुलो सङ्कट बेहोर्नु परेको थियो ।
सुनसरी–मोरङ कोरिडोरका जुट उद्योगको वार्षिक प्रशोधन क्षमता ६५ हजार टन छ । स्वदेशी उत्पादनले मागको सानो हिस्सा मात्र धान्ने भए पनि यस वर्षको उत्पादन वृद्धिले उद्योगीलाई केही राहत मिल्ने देखिन्छ । जुट उद्योगी रमेश राठीका अनुसार यस वर्ष नेपालसँगै भारत र बङ्गलादेशमा पनि उत्पादन राम्रो रहेकाले आगामी सिजनमा कच्चा पदार्थको अभाव नहुने अपेक्षा गरिएको छ । स्वदेशमा उत्पादित जुटको ठुलो हिस्सा प्रशोधनपछि भारत निर्यात हुने गरेको छ । कच्चा पदार्थको सहज आपूर्ति र अनुकूल बजार मूल्य कायम रहेमा सङ्कटबाट गुज्रिरहेका नेपाली जुट उद्योगलाई यो वर्ष सकारात्मक हुने देखिएको छ ।


