धनकुटा। धनकुटा नगरपालिका हिलेदेखि भिरगाउँसम्म जोड्ने करिब ७.३ किलोमिटर सडकको कालोपत्रेको काम नसकिँदै उप्किन थालेको छ । निर्माणको ठेक्का पाएको आशिष–आशीर्वाद–स्वामीनारायण जेभीले गरेको उक्त कालोपत्रे सम्पन्न नहुँदै उक्किन थालेको हो ।  धनकुटा नगरपालिका–१ स्थित हिलेबजार हँदै वडा नम्बर २ भिरगाउँ जोड्ने हिले–भिरगाउँ–मधुगङ्गा सडक केही समयअगाडि मात्रै कालोपत्रे गरिएको थियो । निर्माण व्यवसायीले हिउँदमा गर्नुपर्ने काम असारमा हिलो माटोमाथि नै कालोपत्रे गरेकाले उप्किन थालेको स्थानीयले बताएका छन् । कालोपत्रे गरिएको धेरै ठाउँमा सतह उप्किएर माटो देखिन थालेको छ । यसले गर्दा सडक प्रयोगकर्ताले निर्माणको गुणस्तर नभएको भन्दै प्रश्नसमेत उठाउन थालेका छन् । कालोपत्रे सडकमा सवारी चाप कम हुँदासमेत कालोपत्रे उप्किन थालेपछि स्थानीयसमेत आक्रोशित छन् ।   विश्व बैङ्कको सहयोगमा सञ्चालित नेपाल सहरी सुशासन तथा पूर्वाधार आयोजना अन्तर्गत धनकुटा नगरपालिकाले सुनसरीको धरानस्थित आशिष–आशीर्वाद–स्वामीनारायण जेभीलाई भ्याट र अस्थायी रकमसहित ३२ करोड ७७ लाख ४३ हजार ८६८ रुपियाँ ४० पैसामा ठेक्का दिएको थियो । सम्झौता अनुसार २०८० चैत ३० गते सुरु भएको काम २०८२ असार ३१ गते १५ भित्र सम्पन्न हुनुपर्ने थियो । समयमै काम पूरा नभएपछि यसअघि दुई पटक म्याद थप गरिएको थियो । 

कालोपत्रे केही समयमै उप्किन थालेपछि निर्माणको म्याद पुनः थपिएको छ । हतारमा सक्ने गरी कमसल सामग्री प्रयोग गर्दा सडक भत्किन थालेको हो । पछिल्लो पटक कालोपत्रेको गुणस्तरमा समस्या देखिएपछि गत असारमा तेस्रो पटक भदौ मसान्तसम्म म्याद थपिएको धनकुटा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत सीताराम गौतमले बताउनुभयो । स्थानीयका अनुसार निर्माण कम्पनीले अन्तिम समयमा हतारमा काम सक्ने प्रयास गर्दा कमसल सामग्री प्रयोग गरेको र त्यसकै परिणामस्वरूप कालोपत्रे उप्किएको बताएका छन् ।   धनकुटा नगरपालिका–२ का वडाध्यक्ष चन्द्रलाल तामाङका अनुसार सडकको कालोपत्रे हातैले उक्किएको बताउनुभयो । उहाँका अनुसार पटक पटक अनुगमन गरी निर्माण कम्पनीलाई सचेत गराएको बताउनुभयो ।   करिब ७.३ किलोमिटर सडक स्तरोन्नतिको काममध्ये ३.३ किलोमिटरमा ढलान सम्पन्न भइसकेको छ । अन्य बाँकी रहेको चार किलोमिटरमा अस्फाल्ट कालोपत्रे भइरहेको छ । यसमध्ये करिब तीन किलोमिटरमा कालोपत्रे गरिए पनि करिब आठ सय मिटर क्षेत्रमा गरिएको काम भने गुणस्तरीय नदेखिएकाले पुनः गर्न निर्देशन दिइएको धनकुटा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत गौतमले बताउनुभयो । अझै करिब १.२ किलोमिटर सडकमा कालोपत्रे गर्न बाँकी छ । उहाँका अनुसार निर्माण कम्पनीले गुणस्तर नपुगेका सबै भाग कम्पनीको आफ्नै खर्चमा पुनर्निर्माण गर्ने सहमति भएको बताउनुभयो ।

कालोपत्रेको गुणस्तर परीक्षणका लागि सुरु विन्दुदेखि रानीवनसम्मका नमुना काटेर सुनसरीस्थित पूर्वाञ्चल सिभिल इन्जिनियरिङ ल्याबोरेटरी प्रालिमा परीक्षण गर्दा कमजोरी देखिएको हो । उक्त स्थानमा पुरानो तह हटाएर पुनः कालोपत्रे गर्ने, आवश्यक स्थानमा आधार तह सुधार गर्ने तथा प्राविधिक मापदण्ड पूरा गराएर मात्र सडक हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।   कालोपत्रेको सम्पूर्ण कामको गुणस्तर परीक्षण र प्राविधिक मापदण्ड पूरा भएको पुष्टि भएपछि मात्रै अन्तिम भुक्तानी गरिने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताउनुभयो । हालसम्म करिब तीन किलोमिटर ढलानतर्फको केही रकम मात्रै भुक्तानी गरिएको छ । अन्य कालोपत्रे सडकको भुक्तानी रोकिएको र निर्माण कम्पनीले आवश्यक सुधार नगरेसम्म अन्तिम भुक्तानी नदिइने उहाँले बताउनुभयो ।