इटहरी । इन्ट्याक्ट क्लब अफ विश्व आदर्शले शैक्षिक वर्ष २०२६÷२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ। क्लबको सातौँ पदस्थापन तथा सपथग्रहण समारोह मार्फत सिद्धान्त निरौलाको अध्यक्षतामा नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो ।
विश्व आदर्श एकेडेमीमा आयोजित कार्यक्रममा क्षेत्र–१ का क्षेत्रीय इन्ट्याक्ट प्रतिनिधि मिङ्साङ लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिद्धान्त निरौला सहित सम्पूर्ण पदाधिकारी तथा नयाँ सदस्यहरूलाई सपथ ग्रहण गराइनुका साथै ब्याच वितरण गरिएको थियो। नयाँ कार्यसमितिमा आगामी अध्यक्ष साइमा कार्की, उपाध्यक्ष दीक्षित सुवेदी, सचिव आरोशी राई, सहसचिव मनशी घिमिरे, कोषाध्यक्ष समृद्धि दुलाल, क्लब सेवा निर्देशक दक्षश्री ढकाल, सामुदायिक सेवा निर्देशक ऋजुता शर्मा, अन्तर्राष्ट्रिय सेवा निर्देशक योगेश गिरी, आईटी प्रमुख अर्चित भट्टराई तथा आईटी अधिकारी वैभवी घिमिरे चयन हुनुभएको छ । कार्यक्रममा सहप्रधानाध्यापक मोहनप्रसाद निरौलाले कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू इन्ट्याक्ट क्लबका सदस्य रहने जानकारी दिनुभयो ।
विद्यालयका प्राचार्य गणेश कुमार दुलालले विद्यालय जीवन देखि नै विद्यार्थीहरूलाई सामाजिक सेवामा आबद्ध गराउन इन्ट्याक्ट क्लब प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो । त्यसैगरी, रोटरी क्लबका अध्यक्ष चेतन धमलाले इन्ट्याक्ट क्लबका गतिविधिमा रोटरीको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष सिद्धान्त निरौलाले शिक्षा, वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै क्लबलाई अझ सक्रिय, सिर्जनशील र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरे लगायत वक्ताहरूले इन्ट्याक्ट क्लबले विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सामाजिक उत्तरदायित्व र सेवाभावको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।


