झापा :  झापामा गत आर्थिक वर्ष विकास निर्माणतर्फ विनियोजित बजेटको आधाभन्दा केही बढी रकम मात्र खर्च भएको छ। जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजन गरिएको पुँजीगत बजेटमध्ये ५१ प्रतिशत मात्र खर्च भएको हो।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय सरकारले झापाका लागि पुँजीगततर्फ विनियोजन गरेको रु १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५९० मध्ये रु ६ अर्ब ४७ करोड २५ लाख ४९ हजार १८६ मात्र खर्च भएको छ।  पुँजीगत बजेट खर्चको अवस्था कमजोर देखिए पनि चालुतर्फ भने खर्चको दर उच्च छ। चालु खर्चका लागि विनियोजित रु १७ अर्ब तीन करोड ६८ लाख ८८ हजार ९८ मध्ये रु १६ अर्बभन्दा बढी खर्च भएको कार्यालयले जनाएको छ। सङ्घीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत बजेट उपलब्ध गराउँदै आएको छ। स्थानीय तहले प्राप्त बजेट शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा खर्च गर्ने व्यवस्था छ।

तर विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत बजेटको आधा हाराहारी मात्र खर्च हुनु कार्यान्वयन क्षमतामाथि प्रश्न उठाउने विषय बनेको छ। बजेट विनियोजन भए पनि समयमै योजना कार्यान्वयन, ठेक्का प्रक्रिया तथा अन्य प्रशासनिक कारणले खर्च हुन नसक्दा विकास बजेटको ठूलो हिस्सा उपयोगविहीन बनेको देखिन्छ।