इटहरी। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा होटल, क्याटरिङ तथा अन्य व्यवसायीले आफ्ना कामदारमार्फत आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेको पाइएको छ । ग्यासको अभाव देखिएपछि उपभोक्ताले पनि आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेको पाइएको अनुगमन अधिकृत सापकोटाले बताउनुभयो । उहाँका अनुसार धरानमा हाल दैनिक न्यूनतम एक हजारदेखि अधिकतम दुई हजारसम्म ग्यास सिलिन्डर आउने गरेको छ । आपूर्ति भइरहे पनि वितरण प्रणाली व्यवस्थित नहुँदा तथा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्दा बजारमा ग्यासको अभाव देखिएको हुनसक्ने उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा ग्यास डिलरबाट मात्रै ग्यास बिक्री वितरण गर्न र किराना पसललगायतका अन्य खुद्रा पसलबाट ग्यास बिक्री नगर्न व्यवसायीलाई निर्देशन दिइएको छ । एउटा परिवारलाई एक पटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउनसमेत डिलरलाई आग्रह गरिएको सापकोटाले बताउनुभयो । पछिल्लो समय डिलरबाट सहज रूपमा ग्यास पाउन नसक्दा उपभोक्ता किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको गुनासो बढेको छ । ग्यास लिन उपभोक्ताले लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको उपभोक्ताको भनाइ छ । ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अनुगमन टोलीले व्यवसायीलाई आग्रह गरेको छ । उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन डिलर तथा बिक्री केन्द्रले निष्पक्ष र व्यवस्थित रूपमा वितरण गर्नुपर्नेमा अनुगमन टोलीले जोड दिएको छ । उपमहानगरपालिकाले ग्यासको आपूर्ति तथा वितरण अवस्थाबारे अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।


