इटहरी । निर्माण तथा घर सजावटमा प्रयोग हुने रंगरोगन सामग्रीको कारोबार गर्दै आएको नव दुर्गा ट्रेडर्सले आफ्नो नवौँ वार्षिकोत्सव सम्पन्न गरेको छ।
इटहरीस्थित सोल्टी होटलमा आयोजित वार्षिकोत्सव कार्यक्रममा के.एन.पी. नेरोल्याक पेन्ट्सका प्रतिनिधि, नव दुर्गा ट्रेडर्सका पदाधिकारी, व्यवसायी तथा पूर्वी नेपालका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाको नौ वर्षे व्यावसायिक यात्रा, ग्राहकलाई प्रदान गर्दै आएको सेवा तथा आगामी योजनाबारे चर्चा गरिएको थियो। नव दुर्गा ट्रेडर्सका अध्यक्ष देवी खनालको अध्यक्षता तथा के.एन.पी. नेरोल्याक पेन्ट्सका कन्ट्री हेड मनोज मिश्राको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले जापानी प्रविधिमा आधारित गुणस्तरीय रंगको बिक्री–वितरणलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा व्यवसायलाई व्यवस्थित र विस्तार गर्ने बताउनुभयो।
उहाँले रंगको क्षमता र गुणस्तरलाई प्राथमिकतामा राखेर ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, प्रमुख अतिथि मनोज मिश्राले नव दुर्गा ट्रेडर्ससँगको साझेदारीमा पूर्वी नेपालका ग्राहकलाई गुणस्तरीय रंग उपलब्ध गराउँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा उत्पादन तथा सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउँदै ग्राहकको विश्वास कायम राख्नेमा जोड दिनुभयो।
कार्यक्रममा के.एन.पी. नेरोल्याक पेन्ट्सका विभिन्न उत्पादन तथा तिनका विशेषताबारे समेत जानकारी गराइएको थियो। कम्पनीका अनुसार नेरोल्याकका उत्पादनहरू जापानी प्रविधिमा आधारित हुनुका साथै वातावरणमैत्री र लिड फ्री उत्पादनमा जोड दिइएको छ। कार्यक्रममा कम्पनीका पूर्वी नेपालमा सञ्चालनमा रहेका १४ वटा शाखाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। साथै इटहरी, झापा, मोरङ लगायत पूर्वी नेपालका चर्चित कन्टेन्ट क्रियटरहरूको सहभागितामा मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा ईश्वर कट्टेल, मनोज दाहाल, रिजनल सेल्स म्यानेजर बिपिन सिंह, एरिया सेल्स म्यानेजर कौशल चौधरी, अनिल शाह र धीरेन्द्र शाह लगायतको उपस्थिति रहेको थियो। वार्षिकोत्सवका अवसरमा सहभागीहरूले नव दुर्गा ट्रेडर्सको आगामी व्यावसायिक यात्रा थप सफल, व्यवस्थित र उपलब्धिमूलक बनोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।


