इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा अङ्ग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी, सरल र गुणस्तरीय बनाउने उद्देश्यका साथ विराटचोकस्थित उद्योग वाणिज्य संघको सभाहलमा एक दिवसीय ‘फोनिक्स ध्वनि प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालको अध्यक्षतामा सञ्चालन भएको थियो। उक्त समारोहमा सुन्दरहरैंचा नगरपालिकाकी नगर उपप्रमुख अकलि चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। तालिममा मुख्य प्रशिक्षक राजेन्द्र बहादुर थापाले अङ्ग्रेजी भाषाको सही उच्चारण, अक्षर र ध्वनिको सम्बन्ध, शब्द उच्चारण गर्ने तरिका तथा विद्यार्थीलाई सरल रूपमा सिकाउने प्रविधिबारे व्यवहारिक ज्ञान प्रदान गर्नुभयो। कार्यक्रममा बोल्दै नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले पछिल्लो समय अंग्रेजी भाषा शिक्षणमा सही उच्चारण र ध्वनि पहिचानको महत्व बढ्दै गएको भन्दै शिक्षकहरूलाई आधुनिक तथा प्रभावकारी शिक्षण विधिसँग जोड्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।
प्रमुख अतिथि नगर उपप्रमुख अकलि चौधरीले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता विकास अपरिहार्य रहेको बताउँदै शिक्षकले आफूलाई समयअनुसार अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । विशिष्ट अतिथि नेशनल प्याब्सन केन्द्रीय सदस्य नारायण ढकालले अंग्रेजी भाषाको आधारभूत सीप विकासका लागि फोनिक्स ध्वनि प्रशिक्षण सम्बन्धी ज्ञान महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले शिक्षकले नयाँ शिक्षण विधि र प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई सिकाइप्रति आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न निजी विद्यालयमा कार्यरत २ सय भन्दा बढी शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो । सहभागीहरूले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिन आयोजक समक्ष सुझाव दिएका छन्। आयोजकले पनि यस्ता तालिम आगामी दिनमा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।


