इटहरी। माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन ९४० केजी० रु चार हजार ५०० का दरले बिक्री गर्नुभएको हो । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उहाँले भन्नुभयो । पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गर्नुभएका उहाँले २० मन बीउ राखेर बाँकी बेच्नुभयो । उहाँले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोप्नुभएको छ । उहाँले भन्नुभयो माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर रु दुई लाख बढी आम्दानी गर्नुभयो । पचास मन अदुवा रु चार हजारका दरले बेच्नुभएका उहाँले यस वर्ष २० मन रोप्नुभएको छ । यस वर्ष आम्दानी बढाउने उहाँको लक्ष्य छ । माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष ६० मन अदुवा रोप्नुभएको छ । दश रोपनीमा व्यावसायिक खेती थाल्नुभएका उहाँले यसअघि १० मन बीउ माटोमा उपयोग गर्नुभएको थियो । जिल्लाका किसान अदुवाप्रति आकर्षित भएकाले आफू पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उहाँ बताउनुहुन्छ । आकर्षक आम्दानीका कारण धान र अन्य खेती छाडेर किसान अदुवाखेतीमा लागेका उहाँको कथन छ ।
उत्पादनका बेला प्रतिमन रु चार हजार ५०० सम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन रु सात हजारसम्म पुगेको छ । बच्चा र माउको मनासिव मूल्य पाएपछि किसानहरु अदुवाखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको छ । माउ अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन रु सात हजारसम्म बिक्री हुने गरेको छ भने इलाममा छ हजारमा किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताउनुभयो । यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्दै आएका छन् । भदौसम्म माउ अदुवाको बिक्री हुने अदुवाको मुख्य उत्पादन कात्तिकदेखि जेठसम्म हुन्छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ ।केन्द्रका अनुसार इलाममा तीन हजार २२१ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ । गत वर्ष यहाँ ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।


