इटहरी ।  फालेलुङ गाउँपालिकामा स्थानीय कला, साहित्य र सङ्गीतको अभिलेख समेटिएका दुईवटा कृति (पुस्तक) विमोचन गरिएको छ । फालेलुङ गाउँपालिका–६ सेमिच्योङ भवनमा आयोजित कार्यक्रममा फालेलुङ वाङ्मय प्रतिष्ठान विद्वतसभाले प्रकाशन गरेको ‘फालेलुङका कला, साहित्य र सङ्गीतकर्मीहरू’ स्रष्टा अभिलेखीकरण पुस्तक र साहित्यकार पूर्ण परिचित जबेगूको गजल सङ्ग्रह ‘शब्दहरूको माङघेन्ना’ विमोचन गरिएको हो ।  पूर्वमन्त्री तथा कोशी प्रदेशका सांसद कमलप्रसाद जबेगू र फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू फुङनिमाले संयुक्त रूपमा दुवै कृति विमोचन गर्नुभयो ।  ‘फालेलुङका कला, साहित्य र सङ्गीतकर्मीहरू’ पुस्तकमा फालेलुङ क्षेत्रमा कला, साहित्य र सङ्गीतका क्षेत्रमा योगदान पु¥याएका स्रष्टाहरूको परिचय तथा योगदानलाई अभिलेखका रूपमा समेटिएको छ ।  यसले स्थानीय स्रष्टा रे सिर्जनालाई दस्तावेजीकरण गर्दै फालेलुङको साहित्यिक तथा सांस्कृतिक इतिहास संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ कृतिकार पूर्ण परिचित जवेगुले जानकारी दिनुभएको छ ।

त्यसैगरी ‘शब्दहरूको माङघेन्ना’ गजल सङ्ग्रहमा साहित्यकार जबेगूका गजलहरू सङ्ग्रहित छन । विमोचित कृतिमाथि साहित्यकार प्रेम ओझा र शिक्षक सुकबहादुर मेयोङहाङले चर्चा गर्नुभएको थियो । कार्यक्रममा फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू फुङ्निमा, राजनीतिकर्मी पुष्प तिमिल्सिना, शिक्षाकर्मी टेकनाथ रिजाल र पनिता राई तथा फालेलुङ–६ का वडाध्यक्ष अमरवीर राई र वडा नम्बर ७ का वडाध्यक्ष टेकबहादुर केरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो । फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कला र संस्कृतिको झल्को दिने विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।