इटहरी । रोट्र्याक्ट क्लब अफ धरान घोपाले आफ्नो शैक्षिक तथा सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिरहेको प्रोजेक्ट सक्षम अन्तर्गत दिपेन्द्र विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

कार्यक्रम कक्षा ३, ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो कार्यक्रममा जंक फुडका हानिकारक प्रभाव, स्वस्थ तथा पौष्टिक खानाको महत्व, व्यक्तिगत सरसफाइ तथा दैनिक जीवनमा अपनाउनुपर्ने स्वच्छता सम्बन्धी बानीहरूबारे जानकारी प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई नियमित रूपमा हात धुने, दाँत माझ्ने, नुहाउने तथा नङ सफा राख्ने जस्ता आधारभूत सरसफाइका अभ्यासहरूको महत्वबारे समेत सचेत गराइएको थियो।

सहभागीमूलक र अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रश्नोत्तर तथा छलफल मार्फत विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको थियो। कार्यक्रमले बालबालिकामा स्वास्थ्यप्रति सकारात्मक सोच र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास क्लबले लिएको छ। विद्यालय तहबाटै स्वास्थ्य शिक्षा र स्वस्थ बानीको विकास गराउने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रम विद्यालय प्रशासन, शिक्षकवर्ग तथा विद्यार्थीहरूको सहयोग र सहभागिताका कारण सफलतापूर्वक सम्पन्न भएको हो।

रोट्र्याक्ट क्लब अफ धरान घोपाले आगामी दिनहरूमा पनि समुदाय तथा विद्यालयस्तरमा यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने जनाएको छ ।