इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाउँदै पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनापछि उत्पन्न परिस्थितिमा विभिन्न स्थानमा भएको तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न हुनसक्ने आशंकामा उनीहरूलाई शनिबार पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा नेपाल–भारत सीमा पार गर्ने क्रममा पक्राउ परेका चार जना र सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका एक जना छन्। प्रहरीले उनीहरूलाई कप्तानगञ्जमा भएको डिजे विवाददेखि गोलीकाण्ड र त्यसपछि उत्पन्न परिस्थितिका क्रममा भएका गतिविधिबारे सोधपुछ गरिरहेको जनाएको छ।
पक्राउ परेकाहरूको घटनामा संलग्नता पुष्टि भइसकेको छैन। उनीहरूमाथि अनुसन्धान अघि बढाइएको र अनुसन्धानपछि मात्रै घटनामा उनीहरूको भूमिका स्पष्ट हुने प्रहरीले जनाएको छ। कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सम्भावित रूपमा सीमा पार गरी भाग्न सक्ने व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित अन्य व्यक्तिको खोजी तथा अनुसन्धान पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


