इटहरी । प्रतिबन्धित अनलाइन जुवा तथा सट्टेबाजीमा संलग्न रहेको आरोपमा मोरङको पथरी शनिश्चरे क्षेत्रबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीले सूचना तथा निगरानीका आधारमा विभिन्न मिति र समयमा विशेष अपरेसन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार साउन ९ गते निरज दुलाल र महबिर रौनियार पक्राउ परेका थिए। यस्तै, साउन ११ गते दुई जना र साउन १४ गते थप एक जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पथरी शनिश्चरे–२ का अखिल श्रेष्ठ र निखिल श्रेष्ठ तथा वडा नम्बर १ का विवेक तिमल्सिना सहित पाँच जना रहेका छन्।
उनीहरूमाथि अवैध सट्टेबाजी तथा प्रतिबन्धित अनलाइन गेम खेलाउने कार्यमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरदत्त पन्तका अनुसार पक्राउ परेकाहरूमाथि मुलुकी फौजदारी संहिता, सट्टेबाजी गर्न नहुने सम्बन्धी कानुनी व्यवस्था तथा मुद्रा सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकाहरूलाई मोरङ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी पन्तले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय पथरीले पछिल्लो समय प्रतिबन्धित अनलाइन जुवा तथा सट्टेबाजीका गतिविधिमाथि निगरानी बढाउँदै आवश्यक कानुनी कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।


